समाचार
दुर्घटनामा न्यूनीकरण अभियानमा तनहुँ ट्राफिकः ७० भन्दा बढी सवारीका थप सिट निकालियो
तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा राखिने थप सिट हटाउने अभियान सुरु गरेको छ ।
गत तीन दिनको अवधिमा विभिन्न ७० भन्दा बढी सवारी साधनको थप सिट निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
केही पैसाको लोभले सवारीको क्षमताभन्दा बढी यात्रु राख्नका लागि सवारी सञ्चालक तथा चालक र सहचालकले थप सिट राख्ने गरेको पाइन्छ ।
थप सिट राख्दा सवारी क्षमताले नथेग्ने र सवारी दुर्घटना बढ्ने देखिएकाले उक्त थप सिट निकाल्ने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक पुर्ण बहादुर अधिकारिले बताउनुभयो । ’सवारीमा यात्रुलाई थप सिटले सास्ती भएको देखियो ।’
ट्राफिक प्रमुख अधिकारीले भन्नुभयो ’क्षमताभन्दा बढी यात्रु राख्दा सवारी दुर्घटना हुने सम्भावना बढी देखिएकाले थप सिट निकाल्ने अभियान सुरु गरेका हौ ।’ उहाँले थप्नुभयो ’मुख्य उद्देश्य भनेको यात्रुले सहज यात्रा गर्न सकुन भन्ने हो ।’
गत तीन दिनको अवधिमा ७० भन्दा बढी थप सिट विभिन्न सवारीबाट निकालिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । उहाँका अनुसार माइक्रो बस, म्याजिक, उइन्गर लगायतका सवारीसाधनबाट ७० वटा भन्दा बढी थप सिट निकालिएको हो ।
३० वटाभन्दा बढी मुडा, फलाम वल्डिङ गरी जोडिएको थप सिट २५, बाल्टी र फल्याक गरि १५ भन्दा बढी थप सिट निकालिएको प्रहरी निरीक्षक अधिकारिले जानकारी दिनुभयो ।
त्यसरी नियम विपरित थप सिट राख्ने सवारीलाई एक हजार दखि १५ सय सम्म जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
’तीन दिन लगातार चेकजाचमा कडाई गरेपछि अहिले केही कम भएको छ ।’ प्रहरी निरीक्षक अधिकारिले भन्नुभयो ’यो अभियान दैनिक चलिरहन्छ, गलत गर्नेलाई कारवाहीको दायरामा ल्याईन्छ ।’ उहाँले थप्नुभयो ’अझै विदेशबाट आउने नेपालीहरुले ल्याउने एक÷दुई वटा लगेजको भाडा समेत एक हजार देखि दुई हजारसम्म लिने गरेको भेटियो । अनि हामीले तीन वटा माइक्रोबाट उक्त बढी शुल्कसमेत फिर्ता गरायौँ ।’
अहिले दैनिक जसो हुने चेकजाँचले गर्दा उक्त थप सिट राख्नेहरु सजग भएको प्रहरी निरीक्षक अधिकारिले बताउनुभयो ।
१६ जनाको यात्रु क्षमता भएको सवारीमा १८ देखि २० जना सवार भएपछि सवारी दुर्घटनाको दर बढेको ट्राफिक प्रहरीहरु बताउछन् ।
२९ जनाले ज्यान गुमाए
जिल्लाको बिभिन्न स्थानमा सवारी दुर्घटना परी छ महिनाको अवधिमा २८ जनाले ज्यान घुमाएका छन् । आर्थिक वर्ष २०७६/७७ को छ महिनामा २९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक पूर्ण बहादुर अधिकरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तनहुमा साउनमा सात, भदौमा नौ, असोजमा नौ, कात्तिकमा छ, मंसिरमा एक र पुसमा ११ र माघमा एक सवारी दुर्घटना भएका छन ्। जिल्लाका बिभिन्न स्थानमा ४४ वटा सवारी दुर्घटना भएका थिए ।




