समाचार

मान्छे बोकेको किलोको २ सय

ताप्लेजुङ : पासाङ शेर्पा दिनमा चार पटकसम्म पाथीभरा मन्दिर पुग्छन् । उनी दर्शन गर्न नभएर तिर्थयात्री बोकेर पाथीभरा मन्दिर पुग्ने गरेका हुन् । तिर्थयात्री बोकेर उकालो ओरालो गरिरहने पासाङ जस्ता ३ सय भन्दा बढी मजदुर पाथीभरा क्षेत्रमा क्रियासिल छन्। यहाँ हिड्न नसक्ने तिर्थयात्रीलाई प्रतिकिलो २ सय रुपैंयाँ लिएर बोक्ने गरिएको छ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरसम्म पुग्ने चाहना भएपनि हिड्न नसक्ने भत्तजनलाई भरियाले पिठ्युँमा बोकेर पुर्‍याउने र फर्काउने गरेका छन्। ‘५ वर्षदेखि तिर्थयात्रीलाई बोक्दै आएका छौं। हालसम्म पाँचसय भन्दा बढी तिर्थयात्रीलाई बोकेर दर्शन गराएका छौं’, पासाङले भने, ‘खासगरी बालबालिका, वृद्धवृद्धा र हिड्न नसक्नेलाई बोक्छौं।’ गन्तव्यमा पुर्‍याएर फर्काएपछि तिर्थयात्रीले धन्यवाद दिँदा खुसी लाग्ने उनले सुनाए।

तौलका आधारमा पैसा लिने मजदुरले यात्रुलाई मन्दिर पुर्‍याएर पुनः गाडी चल्ने सडकसम्म बोकेर ल्याउँछन्। मान्छे बोकेरै गुजारा चलाइरहेको दिवश लिम्बुले बताए। ‘सिजनमा महिनाको ७० हजार सम्म कमाई हुन्छ’, उनले भने। अधिकांश समय हिउँ पर्ने भएकाले मान्छे बोक्न कठिन हुने लिम्बुको भनाइ छ। ‘मान्छे बोक्न निकै गाह्रो हुन्छ’, उनले भने, ‘तापनि गुजारा चलाउनै पर्ने भएकाले काम गर्दै आएका छौं।’

नवरात्रदेखि मंसिरसम्म र रामनवमीका बेला पाथीभरामा अत्याधिक तिर्थयात्री पुग्ने सिजन हो। फुङलिङको सुकेटार सम्म कालोपत्रे र काफ्ले पाटीसम्म कच्चि सडक छ। त्यहाँबाट साढे ४ किलोमिटर दुरीमा मन्दिर छ। त्यति दुरी पैदल हिड्नु पर्छ । गाडिबाट ओर्लिएर डेढ किलोमिटर दुरीमा रहेको माथील्लो फेदीसम्म अधिकांश तिर्थयात्री हिड्ने गर्छन्।

हिड्न नसक्नेले प्रायः माथील्लो फेदीदेखि सहारा लिने गरेको फेदी प्रहरी चौकिका इन्चार्ज धनराज तुम्बापोले बताए। ‘हिड्न नसक्नेलाई मन्दिर पुग्न निकै कठिन छ। लेक लाग्ने, उकालोमा स्याँ स्याँ हुने समस्या आउँछ’, तुम्बापोले भने, ‘तर कतिपय तिर्थयात्री बोकि एर भए पनि मन्दिर पुगेर पुजा तथा दर्शन गर्न चाहन्छन्।’ पाथीभरा क्षेत्र विकास समिति र प्रहरी चौकीमा दर्ता गरेर भरियाको रेकर्ड राखिने उनले जानकारी दिए।

‘सेवालाई भर पर्दो र सुरक्षित बनाउन प्रहरी र होटल व्यवसायीले मिलेर निगरानी गर्दै आएका छौं’, फेदीका होटल व्यावसायी इन्द्र नारायण भट्टराईले भने, ‘मान्छे बोक्ने सबैलाई नम्बर सहितका पहेंलो पोशाक तोकिएको छ ।’ कम तौल भएका बच्चा एकै जनाले बोक्छन्। तर बढी तौल भएकालाई बोक्न भने दुईदेखि चार जनासम्म लाग्ने मजदुरको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *