समाचार

ओखलढुंगाको खिजीदेम्बामा बुहारी छात्रवृत्ति

ओखलढुंगा : जिल्लाको खिजिदेम्बा गाउँपालिकाले १५ जना छात्रालाई बुहारी छात्रवृत्ति प्रदान गरेको छ। गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बुहारी छात्राहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले बुहारी छात्रवृत्ति उपलब्ध गराइएको हो।

हाम्रो समाजमा अझै पनि पुरातनवादी सोचका कारण बुहारी भएपछि उच्च शिक्षा अध्ययन गर्ने हुँदैन भन्ने चलन रहेको र त्यसलाई निरुत्साहित गरी बुहारीहरूले पनि उच्च शिक्षा अध्ययन गर्न हुन्छ भन्ने चेतनाको विकासका लागि बुहारी छात्रवृत्ति प्रदान गरिएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए।

कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका बुहारी छात्राहरूलाई प्रोत्साहनस्वरूप मासिक ५ सयका दरले एकमुष्ट प्रतिव्यक्ति ६ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको रोकाको भनाइ छ। बुहारी छात्रवृत्ति पाउनेमा सबैभन्दा बढी चण्डेश्वरी माध्यमिक विद्यालय रगनीका छात्रा छन्। चण्डेश्वरी माविमा अध्ययन गर्ने ८ जना बुहारी छात्राले छात्रवृत्ति पाएका छन्। त्यस्तै, हिमगंगा माध्‍यमिक विद्यालयका ५ जना र फूलमति माध्‍यमिक विद्यालय खिजिफलाटेका २ जना बुहारी छात्रा छन्।

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको कार्यक्रमअनुसार नै बुहारी छात्रवृत्ति प्रदान गरिएको खिजिदेम्बा गाउँ शिक्षा समितिका सदस्य कमलप्रसाद न्यौपानेले बताए। विवाहपश्चात् पनि उच्च शिक्षा अध्ययन गर्न इच्छा रहेको तर विविध कारणले अध्ययन गर्न नपाएका बुहारी छात्राहरूलाई लक्षित गरेर छात्रवृत्ति प्रदानको व्यवस्था गरिएको पनि न्यौपानेको भनाइ छ। गत शैक्षिक शत्रमा पनि गाउँपालिकाले ४ जनालाई बुहारी छात्रवृत्ति प्रदान गरेको थियो।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *