समाचार

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड

जनकपुरधाम / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज आयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेकाे बताए । बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक छ भने । प्रदेश नं २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सिङ्गै नेपालको समृद्धि प्रदेश नं २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी छ भने । अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close