समाचार

एक वर्ष बित्न लाग्दा समेत भेटिएनन् पत्रकार तेजु

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उहाँको कुनै जानकारी हुन  सकेको छैन । 

विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उहाँ सम्पर्कविहीन हुनुभएको थियो । बेपत्ता भएदेखि उहाँको निकै खोजी  गरिए पनि अहिलेसम्म कुनै खबर पत्ता नलाग्दा परिवार चिन्तित छन् । 

समुद्र सतहदेखि करीव १६ हजार फिट उचाइमा रहेको बूढीनन्दामा भाद्र शुक्ल चतुर्दशीको बिहान लाग्ने मेलाको समाचार सङ्कलनका  लागि पत्रकार खड्का भदौ ६ गते त्यसतर्फ जानु भएको थियो । उहाँ सम्पर्कविहीन भएको एक वर्ष पुग्नलाग्दा समेत कुनै अत्तोपत्तोे छैन ।

बेपत्ता पत्रकार खड्काको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी लगातार खटिरहे पनि अहिलेसम्म कुनै खबर नआएकामा परिवार निकै दुःखी भएको उहाँका दाजु जीतबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो भाई हराएको एक वर्ष हुन लाग्यो, कहीँ कसैले पनि पत्ता लगाउन नसक्दा  हामी निकै दुःखी भएका छौँ  ।”


बूढीनन्दाबाट फिर्ता हुनुभएका खड्का बर माग्ने भन्ने ठाउँमा केही सामान छुटेकाले लिन गएकामा  अहिलेसम्म सम्पर्कमा नआएका  अर्का दाजु विजय खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइको छोराछोरीले बाबाको खबर केही आयो कि भनेर सोध्नछन्, आफूसँग उत्तर छैन, के भनेर छोराछोरीलाई सम्झाउने ।” पत्रकार खड्काको खोजीका लागि नेपाल पत्रार महासङ्घले विभिन्न खोजविन टोली बनाए पनि अहिलेसम्म कसैले पनि उहाँको अवस्थाका बारेमा खासै आधिकारिक खबर दिन सकेका छैनन् ।

विसं २०५४ मा कार्यक्रम प्रस्तोताका रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो पेशा शुरु गर्नुभएका खड्काले रेडियो नेपालमा रहँदा समाचार वाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताका रुपमा काम गर्नुभएको थियो ।

 उहाँले प्रस्तुत गर्ने कार्यक्रममा ‘देउडा गीतको सेरोफेरो’ र ‘बसिबियालो’  लोकप्रिय थिए । क्षेत्रीय प्रसारण केन्द्र हुँदै केही समय उहाँले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा समेत काम गर्नुभएको थियो । बेपत्ता हुनुपूर्व उहाँ बाजुराको कोल्टीमा रहेको बूढीनन्दा एफएममा कार्यरत हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *