समाचार
ठेकेदारले रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो
काठमाडाैं । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो ।क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिनुभयो । षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो । कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् ।रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

