समाचार
रंगिए बगैचा, जुम्लाको स्याउ पाक्न सुरु
नेत्र शाही, खलंगा, साउन १८ गते । जुम्लाको अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थाले पछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् । जुम्लाको एक मात्र धेरै निर्यात हुने नगदे कृषि फल फूलको रुपमा स्याउलाई लिइन्छ । स्याउ पाक्न थालेपछि धेरैजसो स्याउमा रातो रङले भरिने भएकाले अहिले जुम्लाका स्याउ बगैंचा रातै देखिएका छन् ।
किसानका स्याउका वगैचा अहिले एकातिर लटरम्म फलेको स्याउको फलले भरिएका छन्भने अर्को तिर स्याउ रोपिएका डाँडाका पाखा र खेत पनि रंगिन भएका छन् । यो बर्ष बर्षा र हावा हुरी अत्याधिक आएको हुँदा स्याउ कति फल्ने हो त्यो आंकलन गर्न वाँकी रहेको प्राविधिकहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लाको तीन हजार ४५० हेक्टर क्षेत्रफलमा स्याउका विरुवा रोपिएका छन् ।
त्यो मध्ये ९०० हेक्टरमा स्याउ फल्ने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । आर्थिक बर्ष २०७४÷०७५ को तथ्यांक अनुसार पाँच हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने गत आर्थिक बर्षमा १७ करोड रुपियाँ बढीको स्याउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ । पछिल्लो समयमा जुम्लामा स्याउ खेती भने फष्टाउन थालेको छ ।
किसानहरु स्याउ बगैचा निर्माणमा धमाधम लागेपछि जुम्लाको धेरैजसो घरधुरीमा स्याउका बगैचाहरु लगाइएका छन् । १० बर्ष अगाडि जुम्लाको १४ औ जिल्ला परिषदले एक घर एक स्याउ बगैचा भन्ने अवधारणा ल्याएपछि किसान हरुलाई स्याउ खेतीतिर केन्द्रीत गर्न जिल्ला कृषि विकास कार्यालयको अभियान सफल बन्दै गएको हो । झण्डै १४ हजार स्याउ बगैचा तयार गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांकमा छ ।
दुई बर्ष यता जुम्लामा पुरानो जातका स्याउहरुसँगै नयाँ प्रविधि हाइडे न्सिटिका स्याउ भित्रिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकी करण स्याउ सुपरजोन कार्यालय जुम्लाका अनुसार जुम्लामा इटालियन फुजी र गालानामक स्याउ समेत फल्न थालेका छन् । सुपरजोन जुम्लाका कृषि वैज्ञानिक जोगेन्द्र कान्तुका अनुसार पुराना स्याउ विरुवाको संरक्षणसँगै नयाँ प्रविधिका कामहरु सुपरजोनले गर्दै आएको छ ।
यो बर्ष चाँडै रातो भएको र गुलियो हुन अझै समय लाग्ने उहाँले बताउनुभयो । उहाँले साउन महिनामा अम्ब्रे, मेकलतोष स्याउ पाकिसकेका छन् । यसैगरी भदौ १५ पछि मात्र स्याउ टिप्न मिल्ने उहाँको सुझाव छ। चन्दननाथ सेरा यूलाको करिब १० हजार बर्ग मिटर मा युवाहरुको समूहले स्थापना गरेको हाम्रो कृषि सहकारी सस्थाले एक हजार ३०० विरुवा र जुम्ला एग्रो फर्मले दुई हजार ५०० स्याउका विरुवा रोपेको छ ।
अहिले सेराज्यूलो रातो फुजी स्याउले रंगिएको छ । एक दशकदेखि सुर्खेत जुम्ला कर्णाली राजमार्ग जोडिए पछि यहाँका किसान स्याउ खेती तर्फ बढी लागेका छन् । अहिले किसानहरुले साउबाट २० हजारदेखि १५ लाख रुपियाँ आम्दान ीगरिरहेका छन । वि.सं २०३२ सालमा तत्कालनि रानी ऐश्वर्यको जुम्लामा भ्रमण भएपछि यहाँको चन्दननाथ नगरपालिका तत्कालिन कार्तिकस्वामी गैरागाउँँमा स्याउको वागवानी केन्द्र स्थापना भएको कृषि प्राविधिकतथा स्थानीय खेमराजशाहीले बताउनु भयो ।
उहाँले वागवानी केन्द्रमा रानीको आगमनपछि बि.सं २०३४ सालमा स्याउका विरुवाहरु उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानहरुले नमूनाको रुपमा अगाडि बढाएको बताउनुभयो । अहिले जुम्लामा कम्तिमा १२ जातका स्याउहरु फल्ने कृषि विज्ञहरुले बताएका छन् । कृषि प्राविधिक शाहीका अनुसार जुम्लामा हाल रोपिएका फल्ने स्याउहरु गोेल्डेन डेलि सेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालिएन फुजी र गालासहित एक दर्जन स्याउका विरुवा रोपिएका र फल्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

