समाचार
बाबुले जवरजस्ती लैजान खोज्दा नाबालिका घाइते
विराटनगर / दरबलसहित जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका बाबुले जवरजस्ती तानेर लैजान खोज्दा मंगलबार ६ वर्षीय नाबालिका घाइते भएकी छन् ।
पत्नीसँगको दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग गर्दै प्रहरी कार्यालयको गेटबाटै लैजाने प्रयास गरेका हुन् । सधैं कुटपिट गर्ने र यातना दिने भन्दै पत्नी सुशीला मण्डल कामत उनलाई छाडेर साउन २ गते इनरुवास्थित दिदीको घरमा पुगेकी थिइन् । किसनले कुटपिट गरेका निलडाम र चोट समेत हात तथा शरीरका विभिन्न भागमा छन् । किसनले पत्नी हराएको भन्दै प्रहरीमा साउन ९ गते निवेदन दिएका थिए । त्यही विषयमा छलफल गर्न भन्दै मंगलबार दुवै पक्षलाई बोलाएर प्रहरीले महिला तथा बालबालिका सेलमा छलफल गरायो । छलफलमा दुवै जना अलग्गै बस्ने सहमति भयो । सुशीला आफ्ना बुवा श्रवण मण्डल, भाई वीरेन्द्र मण्डलसहित आफन्त लिएर प्रहरी कार्यालय गएकी थिइन् । आफ्नी आमा रेखा कामत र हजुरआमा धनेश्वरी कामतसहित गएका किसनका साथमा भने ठूलै दलबल थियो । किसनको पक्षमा गाउँलेहरु पनि प्रहरी कार्यालय पुगेका थिए ।
विराटनगर–६ रामपुर माइती भएकी सुशीलाले ८ वर्ष अघि किसनसँग प्रेम विवाह गरेकी हुन् । छलफलमा दुवै जना अदालतमा गएर कानुनी हिसावमै सम्बन्धको अन्त्य गर्ने सहमतिमा पुगेर प्रहरी कार्यालयबाट निस्किँदै थिए । तर छोरीलाई हातमा समाउँदै सुशीला गेटमा आइपुगेपछि भने त्यहाँ अच्चमको घटना हुन पुग्यो । किसनको पक्षमा प्रहरी कार्यालयमा पुगेको एउटा ठूलो भीडले ६ वर्षीय नाबालिका छोरीलाई तान्न थाल्यो ।

श्रीमती आफूसँग नबसे पनि छोरी भने राख्न पाउनु पर्ने किसनको दाबी थियो । त्यही दाबी अनुसार गेटमा भेलाजम्मा भएर बसेकाले नाबालिकालाई तान्न थालेका हुन् । नाबालिका छोरी भने आमा सुशीलातिरै जान बल गरिरहेकी थिइन् । यो घटना जिल्ला प्रहरीको सीसी क्यामेरा फुटेजमा पनि कैद छ । सुशीला र किसन पक्षबीच तानातान हुँदा नाबालिक घाइते भएकी छन् । उनको देव्रे हातको नाडी खुस्किएको प्रहरीले जनाएको छ । गेटमा परिचालित प्रहरीले घटना छुट्याएपछि लगत्तै शरण माग्दै सुशीला भने छोरी च्यापेर डाँको छाडेर रुँदै प्रहरी कार्यालय भित्रै पसिन् ।
घटनापछि नाबालिका आत्तिएर रोइरहेकी थिइन् । आत्तिएर र डराएर कोहीसँग पनि बोल्न नसक्ने अवस्थामा नाबालिका पुगेकी छन् । घटना लगत्तै प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै किसन र उनको साथमा आएकाहरु त्यहाँबाट फरार भएका थिए । त्यो भीडमा रहेकाहरुले सुशीलाका बुवा श्रवण मण्डललाई मार्ने धम्की पनि दिएका छन् ।
सुशीलाका भनाई वीरेन्द्र मण्डलले कानुनले पनि नाबालक हुन्जेलसम्म बच्चालाई आमासँगै बस्न पाउने व्यवस्था गरेको तर जवरजस्ती लैजाने प्रयास गर्दा घटना भएको बताए । वीरेन्द्रले प्रहरी कार्यालयकै गेट अगाडिबाट अपहरण शैलीमा ठूलो भीडले नाबालिका भान्जीलाई नियन्त्रणमा लिएर लैजान खोजेको बताए ।
‘प्रहरी कार्यालयमा छलफलपछि अदालत गएर सम्बन्ध टुँग्याउने सहमति गरेर निस्किएका हामीलाई ठूलो दलबलसहित आएकाले बच्चा खोसेर लैजान्छन् भन्ने नै भएन,’ सुशीलाले भनिन्, ‘गेटमा आइपुग्न साथ चिलले चल्लो छोपेजस्तो खोसेर लैजान खोजेपछि हामी आमा, छोरी आत्तियौं ।’ सुशीलाले नाबालिका छोरीलाई जवरजस्ती तानेर हात खुस्काइदिएको भन्दै पति किसन, आमा रेखा, हजुरआमा धनेश्वरीसहित घटनामा संलग्न विरुद्ध मंगलबारै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् ।
नाबालिकाको भने विराटनगरमै उपचार भइरहेको छ । किसनले घरसायी झगडा भएको बताउँदै श्रीमती आफूसँग नबसेपछि छोरी राख्न पाउनु पर्ने दाबी गरे । उनले विगतमा श्रीमतीलाई नकुटेको दाबी पनि गरे ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले नाबालक हुनजेल आमासँग बस्न पाउने भएका कारण बाल अधिकार हनन् गर्ने गरी तानेर नाबालिकालाई घाइते बनाएको विषयमा अनुसन्धान सुरु गरिएको बताए । ‘घटनाका विषयमा जाहेरी परेका कारण गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘यसमा संलग्न सबै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइने छ ।’ खिउजुले नाबालक अवस्थामा सन्तान आमाकै संरक्षणमा हुने कुरा कानुनले पनि व्यवस्था गरेका कारण बुवाले मैले राख्छु भन्दैमा लैजान नपाउने बताए ।