समाचार
फोक्सुण्डोमा काव्य यात्रा गर्दा लेखकले गरे स्वर्ग पुगेको महशुस !
पर्यटकीय सम्भावना बोकेको फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले ‘कन्सेप्ट नेपाल’ले १५ लेखकलाई पदयात्रा गराएको छ । यही असार ७ गते काठमाडौँबाट शुरु भएको ‘फोक्सुण्डो काव्य यात्रा’का सहभागीले फोक्सुण्डो ताल क्षेत्रमा पुगेर कविता वाचन गर्नुभएको छ ।
काव्य यात्रीहरुले डोल्पाको सुलिगाडबाट पदयात्रा शुरु गर्नुभएको थियो । पदयात्रा शुरु गरेको तीन दिनपछि उहाँहरु फोक्सुण्डो ताल पुग्नुभएको थियो । पदयात्रीहरुले फोक्सुण्डो झरना, बोन गुम्बा, रिङ्ग्मो र पुग्मो गाउँको समेत अवलोकन गर्नुभएको थियो । काव्य यात्रीले ताल किनार र तापिरिचा विद्यालयमा कविता वाचन गर्नुभएको थियो । सो अवसरमा कलाकार कृष्णबहादुर नेपालीले तालमा बसेर बनाएका चित्रहरुसमेत प्रदर्शनी गरिएको काव्य यात्राका संयोजक अमृत भादगाउँलेले जानकारी दिनुभयो ।
यात्राका क्रममा आयोजकले रिग्मो र पुग्मो गाउँका चार संस्कृतिकर्मीलाई जनही रु दश हजारसहित फोक्सुण्डो काव्य सम्मान प्रदान गरिएको थियो । ताल किनारमा आयोजित कार्यक्रममा टुङ्नावादक निमा लातार बैजी, लोकगायिका नाम्दाक लामा, होइसेर डोल्मा बैजी र समाजसेवी सेम्दुक आङक्याल रोकायालाई सम्मान गरिएको संयोजक भादगाउँलेले बताउनुभयो ।
काव्य यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दीपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, विष्णुप्रसाद देवकोटा, अमृत भादगाउँले र सेम्दुक लामा सहभागी हुनुहुन्छ । यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिशन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत छन् । आयोजकले फोक्सुण्डोको वृत्तचित्र, बुकलेट र पुस्तक प्रकाशन गर्ने जनाएको छ ।
