समाचार
विप्लव समूह वार्तामा आउनुको विकल्प छैन, बन्द हडताल औचित्यहीन : प्रचण्ड
विराटनगर । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय अवस्थाका कारण विप्लव समूहलाई वार्तामा आउनुको विकल्प नभएको बताउनु भएको छ ।
सोमवार विराटनगरमा संचारकर्मीहरुसंग अध्यक्ष दाहालले मुलुक विकास र समृद्धिका लागि अगाडि बढेको अवस्थामा बम आतंक र बन्द हडताल गर्नुको औचित्य नभएको बताउनु भयो ।
अध्यक्ष दाहालले निर्वाचन ताका भएको समझदारी अनुसार ५ वर्ष सम्म नेकपा नेतृत्वमा सरकार संचालन हुने बताउदै समझदारी अनुसार नै सरकारको नेतृत्व बारे निर्णय हुने बताउनु भयो । उहाँले मन्त्रिपरिषद पुनर्गठनको कुरा प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र पर्ने भएकाले यसबारे छलफल भईरहेको जानकारी दिदैे बजेट आएपछि मात्र मन्त्रिपरिषद पुनर्गठन बारे विचार गरिने जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले जेठ १८ गते बस्ने पार्टी सचिवालय बैठक सम्म पार्टी नेताहरुको कार्यविभाजन गरिने बताउनु भयो । मिडिया काउन्सिल बारे सोधिएको प्रश्नमा अध्यक्ष दाहालले पत्रकारहरुले आफैले बनाएको आचारसंहिता पालना गर्ने गरी मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरिने स्पष्ट पार्नुभयो ।

