समाचार
हतियारधारी समुह र प्रहरीबिच भोजपुरमा गोली हानाहान
भोजपुर । भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जंगलमा हतियारधारी समूह र प्रहरी बिच गोली हानाहान भएको छ । १० देखि १५ जनाको संख्यामा रहेका हतियारधारी अपराधिक समूहलाई प्रहरीले रोक्न आदेश दिँदा मंगलबार दिउँसो १.४५ बजे सो समूह मध्येका एक जनाले आफ्नो कम्मरमा भिरेको हतियार निकाली प्रहरी टोलिलाई फाईरिङ गर्न खोजेकोले निजलाई नियन्त्रणमा लिन प्रहरीको तर्फबाट जवाफी फायरिङ गर्ने क्रममा जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नं.२ बस्ने बर्ष ३२ को तिर्थराज घिमिरेको बाँया खुट्टामा गोली लागि घाईते अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एक थान कटुवा पेस्तोल सोही पेस्तोलको गोली थान ५, लामो बाईनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड
अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ती, पर्चा, पम्प्लेट समेत बरामद भएको र घाईतेलाई उपचारार्थ
सदरमुकाम तर्फ लगिएको छ भने अन्य हतियारधारी समूह फरार भएकोले निजहरुको खोजतलास भई रहेको प्रहरीले जनाएको छ।
सो स्थानममा हिडडुल गर्ने स्थानीय मानिसहरुमा समेत त्रास फैलिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको नेपाल प्रहरीको टोलिले गस्ती गर्दै जाने क्रममा सोही स्थानमा लुकीछिपी बसेका उनीहरु प्रहरीमाथि जाईलागेका थिए ।

