काठमाडौँ । फागुन यता सरकारले चन्द समूहका करिब ५ सय कार्यकर्ता पक्राउ गरेको छ । तर, उनीहरुको गिरफ्तारीले पनि सो समूहको सक्रियता घटेको छैन भन्ने संकेत आइतबारको घटनाले दिएको छ । प्रतिबन्ध लगाएपछि केही आक्रमक देखिएको प्रहरी पछिल्लो समय चन्द समूहप्रति केही उदार भएको छ । र, त्यसको कारण हो– चन्दसँग नै ‘वान टू वान’ वार्ता गर्ने प्रधानमन्त्री केपी ओलीको चाहना ।

वार्ताको खिचडी पकाउने तयारी भइरहेका कारण सुरक्षा अधिकारीले सोमबारको बन्दलाई ‘औसत’ आंकलन गर्नुको परिणाम पनि थियो–आइतबारको देशब्यापी आतंक र काठमाडौंको विस्फोट । अर्कोतर्फ चन्द समूहलाई राजनीतिक व्यवहार गर्ने कि कानूनी भन्नेमा सत्तारुढ नेकपामै दुई धार हुँदा सरकार अलमलमा छ । र, यही दोधारले पनि चन्द समूहलाई हिंसात्मक गतिविधि बढाउने ‘अबसर’ दिएको छ । खैर, कारण जे भएपनि आइतबारको घटनाले सुरक्षा संगठनका कमजोरीलाई भने सतहमा ल्याएको छ ।
दर्शकहरु, हिंसाका घटनाबाट जनसमुदायलाई आतंकित पार्नु र राज्यको सुरक्षा व्यवस्थामा अविश्वास बढाउनु चन्द समूहको तत्कालिन कार्यनीति देखिन्छ । र, उसले किशोर कार्यकर्तालाई बम–बारुदसँग जिस्कन लगाएर उनीहरुको ज्यानमाथि खेलवाडको शृंखला सुरु गरेको पनि प्रष्ट भएको छ । अर्कोतर्फ आइतबारको ‘आत्मघाती’ सरहको बिस्फोटले चन्द समूहमा बढाइएको निगरानी ‘गफ’ मात्रै रहेको र सरकारको शान्ति–सुरक्षा प्रबन्धमा ढुक्क हुन नसकिने परिस्थिति बनिसकेको पनि स्पष्ट पारेको छ । जसकारण नागरिकमा त्रासको वातावरण सिर्जना भएको छ । आइतबारको विस्फोटपछि उठेका केही स्वभाविक प्रश्न लिएर हामी प्रहरी प्रवक्ता विश्वराज पोखरेल र पूर्व एआइजी केदार साउदकोमा पुगेका छौं ।
शान्ति सुरक्षा दिन असफल रहेको तर्कसँग असहमति राख्दै गृहमन्त्रीले संसदमा सरकार देशमा शान्ति सुरक्षा कायम गर्न सबैभन्दा सफल रहेको दाबी गरे । तर, आइतबारकै घटनालाई केन्द्रमा राख्दा गृहमन्त्री मातहतका सुरक्षा निकाय सबैभन्दा बढी चुकेका छन् । थप चुस्त–दुरुस्त बनाउन भन्दै प्रधानमन्त्री मातहत लगिएको राष्ट्रिय अनुसन्धान विभागको औचित्यमै प्रश्न उठेको छ ।
आइतबारको घटना प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा राखिएको राष्ट्रिय अनुसन्धान विभागको विफलता हो वा गृह मन्त्रालयसँग समन्वय हुन नसकेको परिणाम भन्ने विषय सार्वजनिक त हुँदैन नै । तर, यस्ता गल्ती नदोहो¥याउन तत् निकायले ध्यान दिउन । र, सबैभन्दा महत्वपूर्ण कुरा एक दशकको द्वन्द्वबाट भर्खरै त्राण पाउँदै गरेको मुलुकले अर्को द्वन्द्व थेग्न सक्दैन र हर समस्याको समाधानको प्रारम्भिक चरण वार्ता नै हो भन्ने सत्य सरकार र चन्द समूह दुवैले बेलैमा आत्मसाथ गर्न जरुरी छ ।


