समाचार

सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायको संयुक्त गस्ती

भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बटालियन नं ४२ को कम्पनी ई मुन्सीपुर्वाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा गस्ती गरिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि रोक्न र दुई देशबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त ग गरिँदै आएको जानकारी दिनुभयो । उहाँले नेपालमा निर्वाचन हुँदाका बखतमा पनि दुवै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती गर्ने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमाक्षेत्रको अवस्था बुझ्न संयुक्त गस्ती गरिएको बताउनुभयो ।

बटालियन नं ४२ का कमाण्डर देवबर्माले सीमाक्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्तरूपमा यसरी सुरक्षा गस्ती गर्दा सीमाक्षेत्रमा आपराधिक गतिविधि रोकिने, सीमाक्षेत्रको सुरक्षा हुने र दुवैप्रति सौहर्दता व्यक्त हुने भएकाले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने विश्वास व्यक्त गर्नुभयो ।भारतको उत्तर प्रदेशमा मे ६ तारिख अर्थात् यही वैशाख २३ गते हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द गरिएको छ । लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको ५१औँ बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *