समाचार
बिरगन्जकी महिलाले जन्माइन् एकै पटक ४ सन्तान, शिशुको तौल कम भएपछि एनआइसीयुमा राखियो
काठमाडौँ । आमालाई जुम्ल्याहा बच्चा जन्माउन त निकै कठीन मानिन्छ । एउटी आमाले एक पटकमा नै ४ वटा वच्चा जन्माउनु आँफैमा अनौठो, जोखिम र चुनौतीको काम हो । जुन काम पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले गरेकी छिन् । जम्मा २० वर्षीया खातुनले वीरगन्जमा मंगलबार ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएपछि उनी अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनिरहेकी छिन् । स्रोतका अनुसार वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्।

अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार खातुनले जन्माएका चारैजना शीशु र आमा सबै स्वस्थ छन् । खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको छ । शिशुहरु सबैको अवस्था सामान्य रहेपनि उनीहरु सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम हुने भएकाले सबैलाई एनआइसीयु कक्षमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।


