समाचार

चीनकाे भ्रमणमा जानु अघि संसदलाई पठाइन् राष्ट्रपति भण्डारीले यस्तो पत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेकी छन् । आइतबार संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलाई सम्बोधन गरी पत्र लेखेर राष्ट्रपति भण्डारीले यही वैशाख १६ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको जानकारी दिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन् ।

संसदमा महासचिवलाई सम्बोधन गरि पठाएको पत्रमा उल्लेख गरिएको छ, ‘ नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ बैशाख १६ गते सोमबारका दिन १६ः०० बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको छु ।’

यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । राष्ट्रपति विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्री बजेट पेश गर्नुपर्ने भएकाले प्रिबजेट छलफलका लागि एक महिना अघि अधिवेशन बोलाइएको हो । बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे पर्याप्त छलफल गर्ने परम्परा छ । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *