समाचार

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १२औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

पुस१० बिहीबार ,२०८२
काठमाडौँ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १२औँ साधारण सभा मिति २०८२ साल पुष १० गते सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ कार्यसमितिअनुसार अध्यक्षमा प्राध्यापक डा. लेखप्रसाद निरौला चयन हुनुभएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नन्दु उप्रेती, उपाध्यक्षमा मदनबहादुर थापा, महासचिवमा डा. हरिप्रसाद सिलवाल, सचिवमा वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ र कोषाध्यक्षमा डा. रत्नावली शर्मा चयन हुनुभएको छ।

कार्यसमितिका सदस्यहरूमा डा. फणीन्द्रराज निरौला, राममणि ढुंगेल, डा. प्रतिभा पुन, ज्ञानु विद्रोही र अनिलप्रकाश मिश्र रहनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि जीवन्द्र देव गिरीले युद्धप्रसाद मिश्र देवकोटा युगका कवि भएको उल्लेख गर्दै देवकोटाभन्दा दुई वर्ष जेठो भएर पनि प्रगतिशील लेखनमार्फत भिन्न विचारलाई समेत हित गर्ने दृष्टिकोण राखेको बताउनुभयो। विचार र परिवर्तनलाई नडगमगाई अगाडि बढाउने उहाँको जीवन प्रेरणादायी रहेको धारणा राख्नुभयो।

त्यस्तै, साेही प्रतिष्ठानका पूर्व सचिव हाेमनाथ पौडेलले वर्तमान वैचारिक असफलताप्रति चिन्ता व्यक्त गर्दै लेखकहरूले यसतर्फ गम्भीर भएर सोच्ने समय आएको बताउनुभयो। उहाँले युद्धप्रसाद मिश्र जीवनको अन्त्यतिर झन् सबल र सशक्त बन्दै गएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा साहित्यकार शान्त मानवीले बनारसमा युद्धप्रसाद मिश्रसँगको भेट स्मरण गर्दै साहित्यमा प्रफुल्लित र यथार्थवादी व्यक्तित्व आवश्यक हुने धारणा राख्नुभयो। उहाँले मिश्र हँसिला, सरल र यथार्थवादी व्यक्ति भएको उल्लेख गर्नुभयो

परिवारका प्रतिनिधि महेश्वर प्रकाश मिश्रले युद्धप्रसाद मिश्रले परिवार र आफ्ना लागि भन्दा समाज र साहित्यका लागि बढी सोच्ने व्यक्ति भएको बताउनुभयो।

सभाध्यक्ष डा. फणीन्द्र निरौलाले युद्धप्रसाद मिश्रका विषयमा थेसिस र अनुसन्धान भइरहेको जानकारी दिँदै उहाँका अझै थुप्रै रचना प्रकाशन हुन बाँकी रहेको बताउनुभयो। उहाँका बारेमा लेख्न, खोज्न र अध्ययन गर्न धेरै विषय बाँकी रहेको उहाँको भनाइ थियो। कार्यक्रमको उद्घोषण संस्थाका महासचिव नन्दु उप्रेतीले गर्नुभएको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *