माेरङ / डाँका तथा जवरजस्ती करणी मुद्दामा अदालतले कैद तथा जरिवानाको फैसाल गरे पनि ९ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले मोरङको ग्रामथानबाट पक्राउ गरेको छ ।
१४ वर्ष भन्दा बढी कैद सजाय भुक्तान गर्न बाँकी रहेका ग्रामथान गाउँपालिका–६ का ३२ वर्षीय पप्पु मियाँ पक्राउ परेका हुन् । २०६४ साउन ६ गते राति मोरङको साविकको बैजनाथपुर गाविस–५ का सुरेन्द्र बुढाथोकीको घरबाट ९ लाख, २०६४ भदौ ५ गते साविकको टंकीसिनवारी गाविस–२ का रामकुमार बुढाथोकीको घरबाट ९१ हजार छ सय रुपैयाँ डकैती गरेर लगेको घटनामा मियाँको संलग्नता पुष्टि भएको थियो । त्यस्तै २०६४ साल भदौ १५ गते साविकको विराटनगर उपमहानगरपालिका–४ को एक घरबाट धनमाल डकैती गर्नुका साथै जवरजस्ती करणी पनि गरेको घटनामा उनको संलग्नता रहेको थियो ।
प्रहरीले २०६४ भदौ २२ गते पक्राउ गरेर उनीसहित ग्रामथान–६ का रजाबुल मियाँ र मोहम्मद जबार मियाँलाई पक्राउ गरेर डाँका र जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाएको थियो । घटनामा संलग्न ७÷८ जना व्यक्ति मध्ये प्रहरीले ३ जनालाई मात्रै पक्राउ गर्न सकेको थियो । त्यतिबेला पक्राउ गरेर चलाइएको मुद्दामा जिल्ला अदालत मोरङले ३ जनालाई नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालत मोरङको आदेश अनुसार २०६७ जेठ १० गतेसम्म २ वर्ष ६ महिना १८ दिन कारागार बसेपछि पप्पु छुटेका थिए । उनीसँगै पक्राउ परेका अन्य दुई जना भने अझै पनि कैद सजाय भुक्तान गरिरहेका छन् । उनका हकमा जिल्लाको आदेश उल्टाउँदै तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०६८ साल असार ३० गते पप्पु विरुद्ध डाँका मुद्दामा ६ वर्ष कैद र ६४ हजार ५० रुपैयाँ जरिवाना तथा जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो । पुनरावेदनको फैसला अनुसार १७ वर्ष कैद भुक्तान गर्नु पर्ने भए पनि त्यस अघि नै जिल्लाको आदेशबाट पप्पुले २ वर्ष ६ महिना १८ दिन कैद भुक्तान गरेका कारण अब उनले १४ वर्ष ५ महिना १२ दिन कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेको अदालतले जनाएको छ ।

जिल्लाको आदेश अनुसार छुटेका उनी पुनरावेदनको फैसलापछि भने फरार बनेका थिए । त्यसपछि उनी भारततर्फ भागेको अनुमान गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार गाउँमा आएर लुकिछिपी बसेको सूचनाका आधारमा ग्रामथान–६ बाटै पप्पुलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद साजय भुक्तानका लागि उनलाई सोमबार कारागार चलान गरेको छ ।


