विराटनगर / आफै पेस्तोल राखेर प्रहरीलाई खवर गर्ने विराटनगर– १६ का ३५ वर्षीय मणिकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ का दरैयाको बाँस झ्याङमा गत आइतबार ‘मेडइन युएसए’ लेखेको नाईन एमएम पेस्तोल र दुई थान गोली प्रहरीले फेला पारेको थियो । उक्त पेस्तोल र गोली पक्राउ परेका सिंहले राखेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
उनका अनुसार पेस्तोल आफैले राखेर प्रहरीलाई खवर गरेको प्रमाण जुटेपछि पक्राउ गरेर सिंहलाई हातहतियार खरखजना मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । भारतबाट पेस्तोल ल्याएको खुलेको छ । प्रहरी स्रोतका अनुसार सिंहको ससुरालीमा २ वर्षदेखि जग्गा सम्बन्धी विवाद थियो । ‘पेस्तोलको प्रयोग गरेर त्यो विवाद साम्य पार्दै ससुरालीको पक्षमा जग्गा पार्न खोजेको देखिन्छ,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘सिंहले अर्को पक्षलाई डर र धम्की दिने काम पनि गरेका रहेछन् ।’ सिंहले ससुरालीमा भएको जग्गा विवादमा अर्को व्यक्तिलाई फसाउन पनि उनको घर नजिकको बाँस झ्याङमा पेस्तोल राखिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जग्गा विवादमा सिंहले फसाउन खोजिएका सवेन्द्र सहनीको घर बाँस झ्याङ नजिक छ । सवेन्द्र सिंहको साढु भाई हुन् । सवेन्द्रको भने ससुरालीसँग लामो समयदेखि जग्गा विवाद रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहले भने जग्गा विवादमा ससुरालीको पक्ष लिएर सवेन्द्रलाई फसाउन लामो समयदेखि प्रयास गरिरहेको दावी प्रहरीको छ ।

प्रहरीले बेवारिसे अवस्थामा आइतबार पेस्तोल र दुई थान गोली बरामद गरेको थियो । रंगको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको पेस्तोल बरामद भएको थियो । पक्राउ परेका सिंह विरुद्ध मंगलबार हातहतियार खरखजना ऐन अन्र्तगत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


