सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड

अ+
अ
अ-

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहनुभएको छ ।

उहाँले भन्नुभयो, “बिहान र साँझ बजार राम्रो चल्छ । दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन्, तर साँझपख भीडभाड बढ्छ । सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ । अहिले दैनिक रु २० देखि रु ३० हजारसम्मको कारोबार भइरहेको छ तिहार खर्च यसै व्यापारबाट जोहो गर्ने हो ।”

तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा अहिले सानाठूला व्यापारी तिहारका सामग्री बिक्री गर्न व्यस्त छन् । दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला, झिलीमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । बजारका हरेक गल्ली र सडकपेटीमा खुलेका सानासाना अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

दसैँपछि नेपालीको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलीमिली बत्तीले घर उज्यालो बनाउने चलन छ । त्यसैले तिहारमा अन्य समयको तुलनामा यस्ता सामग्रीको माग र बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् ।

धरान सब्जीमन्डीका झिलीमिली बत्तीका व्यापारी राजन कोइरालाले पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको र आधुनिक झिलीमिली बत्तीको माग बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले झिलीमिली बत्तीको बिक्री राम्रो छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरैमात्र बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुन्छ ।”

अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले समेत मौसमी व्यापारका रूपमा झिलीमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् । पछिल्ला केही दिनयता भने दैनिक ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री भइरहेको व्यापारी कोइरालाले बताउनुभयो ।