पर्यटन प्रवर्द्धन गर्न इलाममा चिया महोत्सवको तयारी

अ+
अ
अ-

इलाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव हुने भएको हो ।

महोत्सव व्यवस्थापनका लागि सूर्योदय-१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ । सूर्योदय-७, ८ र ९ का जनप्रतिनिधिसहित स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले तयारी तीव्र पारेको संयोजक लामाले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकीहरू प्रस्तुत हुनेछन् ।

महोत्सवमा ‘जलवायु परिवर्तनको सामना: दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयक अन्तरंवाद हुनेछ । सङ्घीय सांसद, नेपाल सरकारका कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधि सहभागी हुने अन्तरसंवादको सहजीकरण पत्रकार बसन्त बस्नेतले गर्नुहुने संयोजक लामाले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय खाद्य परिकारका कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, परीक्षण र बजारीकरणको व्यवस्था गरिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले बताउनुभयो । उहाँका अनुसार महोत्वसमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछन् ।

पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर र महिलातर्फ कन्याममै ९ किलोमिटर दुरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार नगद पुरस्कार पाउनेछन् ।