मादक पदार्थ सेवन गरि यात्रुवहाक बसमा आगजनी गर्ने एक जना पक्राउ

अ+
अ
अ-

मोरङ । मादकपदार्थ सेवन गरी यात्रुवहाक बसमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उर्लाबारीमा यात्रुवहाक बसमा सोमबार बिहान आगजनी गरेको घटनामा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिन देखि हल्ट गरिराखेको बसमा उनले आगजनी गरेका हुन्। ३० वर्षिय माझीले रोकिराखेको ना.४.ख ४९ नम्बरको बसमा विहान करिब साढे ३ बजे आगजनी गरेका हुन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीकाअनुसार पक्राउ गरिएका माझी स्थानीय एक होटलमा कार्यरत छन्। आइतबार राती होटलबाट निस्किएर माझी बसमै सुतेका प्रहरीको भनाइ छ। राती सुतेको अवस्थामा लाइटर बालेर बसमा आगजनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी र दमकलले तत्काल आगो नियन्त्रणमा लिन सकेका कारण अन्यत्र फैलिएर ठूलो क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगजनीका कारण बसमा पूर्णरुपमा क्षति पुगेको छ। घटनास्थल नजिकै मालबाँसे पेट्रोल पम्प र केही घरहरु पनि रहेका थिए।