गोरखा,२२ माघ । बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप रु एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ ।राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । “धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैङ्क खातामा रकम पठाइएका छौँ”, आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले भन्नुभयो, “कागजात पुगेका सबैको खातामा रकम पठाएका हौँ ।”

आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैङ्क खातामा समेत रकम पठाइसकेको उहाँले जानकारी दिनुभयो । आयोजनाले यो पटक ५२५ डुबान प्रभावितको बैङ्क खातामा मुआब्जा रकम पठाएको आयोजना प्रमुख कार्कीले बताउनुभयो ।


