सुरु गर्यो पुनःनिर्माण

अ+
अ
अ-

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिनुभयो । यस्तै, पिप्लेदेखि काभे्रपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।

यस्तै चारसयबेँशीदेखि भकुण्डेबँेशीसम्म (११ दशमलव आठ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ । यसैगरि पिप्लेदेखि डालोबेँशी (दुई दशमलव तीन किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ । उहाँले भन्नुभयो, “विपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्य अनुरुप नै भइरहेको छ ।”

विसं २०८१ असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभे्रपलाञ्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो ।

क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुनःनिर्माणको काम भइरहेको छ । आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताउनुभयो । उहाँका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनःनिर्माण भइरहेको हो ।

सो राजमार्गअन्र्तगत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव ३ किमी सडक पुनःनिर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग रु ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग रु एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग रु एक अर्ब ३३ करोडमा सम्झौता भएको छ ।

यसैबीच विपी राजमार्गमा हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ । “एक दुई स्थानमा साघुँरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र अप्ठेरो छैन,” योगेशले भन्नुभयो ।