समाचार
छाउपडी गोठमा बसे सार्वजनिक सेवासुविधा नदिने
मार्तडी,२४ माघ । पछिल्लो समयमा बाजुरा जिल्लामा छाउगोठ हटाउन विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेका छन् ।एक महीना पहिले बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि छाउपडी गोठ भत्काउनाका साथै गोठमा आउने खतराका बारेमा अभिमुखीकरण कार्यक्रम हुन थालेका हुन् । जिल्लाको बडिमालिका नगरपालिका–८ रापकमा बुधबार छाउपडी कुप्रथाका बारेमा स्थानीयवासीलाई जानकारी गराइएको छ ।

छाउपडी कुप्रथा भएकाले यसलाई अन्त्य गर्न स्थानीय महिला नै लाग्नुपर्नेमा सचेत गराइएको बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले बताउनुभयो । उहाँले छाउपडी कुप्रथाका कारण अकालमै महिलाले ज्यान गुमाउनुपर्ने, यौनहिंसामा पर्ने जस्ता कार्य हुने भएकाले छाउ भएका बेला गोठमा भन्दा घरभित्र राख्न स्थानीयवासीलाई आग्रह गरेको बताउनुभयो ।

