दैलेख–सुर्खेतको सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात

अ+
अ
अ-

काठमाडौँ,१३ माघ । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ । कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न शुरु गरेको थियो ।

क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपटक बाक्लो हिउँ परेको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ । हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ ।