समाचार

पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गर्ने:गृहमन्त्री थापा

विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताएका छन ।

गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने जानकारी गराए । उनले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताएका थिए ।

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे ।

उनले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने पनि जानकारी दिएका छन । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने बताए।

गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रोa काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकार गिराउनेसम्मको षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आज विराटनगर आउनुभएको हो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *