समाचार

गाउको बसिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिएका छन । सत्तरी परिवारको बसोबास रहेको काफडाँडाका बासिन्दाले एक÷एक दिन श्रमदान गरेर नयाँ पदमार्ग निर्माण गरेका हुन् । उनीहरुले पुरानो पदमार्गको स्तरोन्नतिसमेत गरेका छन् । पदमार्ग निर्माणपछि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । गत वैशाखमा करबाकेली पदमार्गको पहिचान गरी नक्साङ्कन गरिएको थियो ।

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक जीर्ण बनेको छ । बाढी र पहिरोका कारण ७६ किलोमिटर लामो सो सडकको बेनीदेखि घाँसा खण्ड छियाछिया भएको छ ।

सडक जीर्ण बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको अन्नपूर्ण गाउँपालिका–६ घारका ठाकुरप्रसाद बरुवालले बताएका छन । पच्चीस किलोमिटरको यात्रा गर्न डेढ घण्टा बढी समय लाग्ने गरेको उनको भनाइ रहेको छ । पाँच घण्टामा पुगिने जोमसोम पुग्न ३३ घण्टा लागेको जोमसोममा कार्यरत कर्मचारी नवराज सुवेदीले बताए । मुस्ताङ भ्रमणमा आउने गरेका पर्यटकको बिचल्ली भएको छ । यात्रुले गाडी धकेलेर हिलोबाट निकाल्नु परिरहेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी सडक विस्तारमा भन्दा पनि सवारीसाधन सञ्चालनमा केन्द्रित छन् । ठेकेदार कम्पनीले बर्खा लागेपछि खन्न थालेका कारण सडक हिलाम्मे भएको हो । गलेश्वरदेखि नारच्याङ पुलसम्मको ठेक्का लिएको शर्मा युनाइटेड जेभीले हालसम्म १५ प्रतिशत मात्र काम गरेको छ । सो आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले सडक विस्तारको काम नियमित रूपमा भइरहेको बतएका छन ।

आरोहण खुला गर्न माग

धवलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहण खुला गर्न यहाँका बासिन्दाले माग गरेका छन् ।वडाको हालै बसेको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहण खुला गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सरकारले २०५२ सालदेखि गुर्जाका हिमाल आरोहण बन्द गरेको थियो । विसं २०५२ अघिसम्म यहाँका हिमाल आरोहण गर्न पर्यटक आउने गरेका थिए । हिमाल आरोहण खुला गराउन गाउँपालिकामार्फत प्रदेश र सङ्घीय सरकारसम्म पहल गरिने वडाध्यक्ष छन्त्यालले जनाएका छन । यहाँ गुर्जा पश्चिम सात हजार १९७ मिटर, चुरेन सात हजार ३७५ तथा पुथा सात हजार २७१ मिटर अग्लो हिमाल रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *