काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा समितिको कार्यविधि २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । मंगलबारको समिति बैठकले गरेका निर्णयहरु निम्नानुसार रहेका छन्ः
नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिको कार्यविधि २०७५ लाई स्वीकृत गर्ने ।
नेपाली कांग्रेसको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा नेपाली कांग्रेस कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, नेपाली कांग्रेस संघीय संसदीय दल, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलबाट लिखित राय सुझाव पठाउनका लागि अनुरोध गर्ने । साथै, पार्टी निकट सबै भातृ एवं शुभेच्छुक संघ संस्थाहरु र विदेशस्थित सबै जनसम्पर्क समितिहरुबाट २०७५ भाद्र २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत राय सुझाव पठाउनका लागि अनुरोध गर्ने ।
नेपाली कांग्रेसका सदस्यहरु, मतदाताहरु, शुभेच्छुकहरु लगायत सर्वसाधरण सबैबाट नेपाली कांग्रेसको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको इमेल ठेगाना (info@nepalicongress.org)मा २०७५ भाद्र २१ गतेभित्र राय सुझाव पठाउनका लागि अनुरोध गर्ने ।
उक्त समितिको अर्को बैठक १३ गते दिउँसो एक बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।


