आज जनैपूर्णिमा । सनातन हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गएर गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ । श्रावण शुक्ल पूर्णिमाका दिनपर्ने यस दिनलाई ऋषितर्पणी भन्ने गरिन्छ । आज घर घरमा क्वाटीको सेवन गर्दा शरीर स्फुर्ति हुने विश्वास पनि गरिन्छ ।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । आजै सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गर्ने प्रचलन छ । त्यसैले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले मानिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर अत्यन्त बलशाली दानवराज बली बाँधिएझै,देवताहरुलाई पनि सुरक्षित हुन गुरु वृहस्पतिले रक्षाबन्धन गरेका थिए । सोहि पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाई छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।
त्यसैगरी जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोगव्याधी नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षा बन्धन मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।


