समाचार
राप्रपा प्रजातान्त्रिकको राजसंस्था र हिन्दुराष्ट्रबारे प्रस्ट धारणा नआएसम्म वार्ता नगर्न कमल थापाको निर्देशन

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकले राजसंस्था र हिन्दुराष्ट्रबारे आफ्नो धारणा स्पष्ट नपारेसम्म वार्ता स्थगन गर्न निर्देशन दिएका छन् ।राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ राप्रपा अध्यक्ष कमल थापाले आज देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा समान विचारधारा भएका शक्तिहरु बीच एकताको सम्भावना बारे छलफल अघि बढाउन गठित वार्ता समितिलाई हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा एवं प्रतिबद्धता नआएसम्म राप्रपा प्रजातान्त्रिकसंग वार्ता स्थगन गर्न निर्देशन दिनुभएको छ ।”
यसैबच संसदीय सुनुवाई समितिले प्रधानन्यायाधिश पदमा प्रस्तावित दीपकराज जोशीलाई अयोग्य ठहवर गरेको घटना नेपालको संसदीय र न्यायिक अभ्यासमा नौलो परिघटना भएको राप्रपाले जनाएको छ ।
राप्रपाले नियुक्ति पद्दति नै त्रूटिपूर्ण भएको औंल्याएको छ । “प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मुल्याङ्कन गर्ने र निर्णय गर्ने संसदीय सुनुवाई समितिको क्षेत्राधिकार हो तर संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति सुनुवाई समितिबाट अस्वीकृत हुनुले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको छ,” प्रचार विभाग प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले आगामी दिनमा कैयन संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्न सक्ने सुनिश्चित रहेको राप्रपाको धारणा छ ।”

