प्रधानमन्त्री केपी शर्मा ओलीले सर्टिफिकेटको बहश छाडेर खुलाखुलस्त बहशमा आउन पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई चुनौती दिनुभएको छ । कांग्रेस सभापति तथा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले महाअभियोग लगाएरु सर्वाेच्च अदालतबाट गलहत्याउने अवस्थामा पुगेपछि बालकोटस्थित निवासमै पुगेर बाचय दिन अनुनय बिनय गर्नुभएकी कार्कीले सडकबाटै आक्षेप लगाएपछि ओलीले पनि सार्वजनिक मञ्चबाटै भाषा छनोट गरेर बहशमा आउन चुनौती दिनुभएको हो ।
केही दिनअघि कार्कीले डा गोबिन्द केसीको नाममा गोहीको आँसु चुहाउँदै ‘सात–आठ कक्षा पढेकालाई के भनौं र खै’ भन्दै लल्कार्नु भएको थियो । प्रधानमन्त्री ओलीले सोही भनाइको प्रतिवाद गर्दै पढेलेखेकासँग आफू नेपाली वा अंग्रेजी जुनसुकै भाषामा बहशका लागि तयार रहेको भन्दै कार्कीलाई भाषा छनोट गरी सार्वजनिक बहशका लागि निम्तो दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफूसँग कार्कीले प्रमाणपत्र कहिल्यै नमागेको भन्दै कहाँ र कसरी आफ्नो सर्टिफिकेट हेरेको भनी प्रश्न गर्नुभयो । नेबिसंघकी पूर्वनेतृ तथा कांग्रेस नेता दुर्गा सुवेदीकी पत्नीसमेत रहेकी कार्कीलाई प्रधानमन्त्री ओलीले कडा जवाफ फर्काउनु भयो । डा केसीको अनसनमा समर्थन भन्दै कार्कीले आफ्नो सवै मर्यादा भुलेर ओलीमाथि आपत्तिजनक अभिब्यक्ति दिनुभएको थियो ।
‘सडक हेर्नुभयो भने किसिम किसिमका मान्छेहरु छन । कोही गेरु बस्त्रमा देखिन्छन, कोही ठाडो चन्दन लगाएको छ । मुसा खाने जस्तो कोही देखिँदैनन, सर्वोच्च न्यायिक निकायमा बसेकाहरुले समेत निषेधाज्ञा तोड्न पुगे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘निषेधाज्ञा तोड्दै के भन्नुभयो भन्दा त्यो प्रधानमन्त्री सात कक्षा पढेको छैन, के बुझ्छ कानुन ?’ प्रधानमन्त्री ओलीले आफ्नो सर्टिफिकेट कहाँबाट हेरेको भन्दै कार्कीसँग प्रश्न गर्दै खुला रुपमा बहशमा आउन चुनौती दिनुभयो ।
‘म सँग सर्टिफिकेट हेर्न आउनु भएको त थिएन । तैपनि देख्नुभएछ,’ पूर्वप्रधानन्यायाधीश कार्कीलाई जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले मर्यादा भुलेर राजनीतिमा नआउन र राजनीतिमा आउने भए घोषणा गरेर आउन पनि कार्कीलाई सुझाउनु भयो ।
‘बहसका लागि आग्रह गर्न सक्दिनँ, धेरै विद्धान हुनुहुन्छ । मैले जे भनेपछि उखान टुक्का भन्नुहुन्छ । तर उहाँहरु यदि इच्छा गर्नुहुन्छ भने बहसका लागि आउनु भए हुन्छ, हामी तयार छौं । बलजफ्ती आफ्ना कुरा माथि पार्ने होइन, कुतर्कमा होइन । हामी स्थिरता, शान्तिको पक्षमा छौं । उहाँहरु केको पक्षमा ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले बुद्धिजिवीहरुलाई पनि कटाक्ष गर्नुभयो । सरकारले जे गर्दा पनि आलोचना गरेको भन्दै उहाँले वुद्धिजीविहरुलाई कठैबरी, विवेक कहाँ बन्धकी राखेको भन्ने प्रश्न गर्नुभएको हो ।


