राजवंशी र मैथिली भाषा कार्यालयको कामकाजमा प्रयोग

अ+
अ
अ-

भद्रपुर । आफूले सहज रूपमा बोल्ने र बुझ्ने भाषामै सरकारी सेवा पाइयो भने सेवाग्राहीले कति सहज महसूस गर्लान ? झापाको शिवसताक्षी नगरपालिका–५ ले राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरेसँगै ती समुदायका लागि त्यस्तो वातावरण बन्न लागेको छ ।

“नागरिकले आफ्नै मातृभाषामा सरकारी सेवा लिन पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” वडाध्यक्ष सिकिन पासवानले भन्नुभयो, “आफ्नो भाषा बोल्न र बुझ्न सहज हुने नागरिकलाई सेवा लिन पनि सजिलो हुन्छ ।”

वडाध्यक्ष पासवानले वडा परिसरमा आयोजित कार्यक्रममा राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोग गर्ने औपचारिक घोषणा गर्नुभएको हो । त्यससँगै अब वडा कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदन, सिफारिसलगायतका काममा नेपाली भाषासँगै राजवंशी र मैथिली भाषासमेत प्रयोग गर्न पाउने वडाध्यक्ष पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार शिवसताक्षी–५ मा ती दुवै भाषा बोल्ने नागरिकको उल्लेख्य बसोबास छ ।

कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषासम्बन्धी विधेयक, २०८३’ असोज २४ गते सर्वसम्मत रूपमा पारित भएपछि नेपाली भाषाबाहेक १३ वटा भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाएका छन् । प्रदेश सरकारको निर्णयलाई स्थानीयस्तरमा कार्यान्वयन गर्ने उद्देश्यले उक्त वडाले यस्तो पहल गरेको हो ।

वडाध्यक्ष पासवानले भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्नुभयो । सरकारी कामकाजमा मातृभाषाको प्रयोगले स्थानीय भाषाको संरक्षण र प्रवर्द्धनमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

आदिवासी जनजाति आयोगका पूर्वसदस्यसचिव कमल राजवंशीले स्थानीय भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय ऐतिहासिक भएको बताउनुभयो ।

राजवंशी, ताजपुरिया, कनाई, धिमाल, कोचे, मेचेलगायत समुदायका भाषा र मौलिक पहिचान ओझेलमा पर्दै गएको उल्लेख गर्दै उहाँले ढिलै भए पनि प्रदेश सरकारले स्थानीय भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न कानुनी मान्यता दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
–––