सुनको असर्फीमा ३ हजार ४७८ रुपैयाँ मर्मत शुल्क, उपभोक्ता असन्तुष्ट

अ+
अ
अ-

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिक्री गरेको सुनको असर्फीमा प्रतिक्का ३ हजार ४७८ रुपैयाँ ७५ पैसा अतिरिक्त शुल्क लिएको छ। राष्ट्र बैंकले उक्त रकमलाई ‘मेन्टेनेन्स दस्तुर’ अर्थात् मर्मत तथा व्यवस्थापन शुल्क भनेको छ।

राष्ट्र बैंकले २ दशमलव ५ ग्रामको एउटा सुनको असर्फीको मूल्य बुधबारको सुनको बजार मूल्यअनुसार ६१ हजार ९२१ रुपैयाँ तोकेको थियो। तर, उक्त मूल्यमा ३ हजार ४७८ रुपैयाँ ७५ पैसा थप गरी सर्वसाधारणबाट प्रतिक्का ६५ हजार ४०० रुपैयाँ नगद लिइएको छ।

बुधबार प्रतिग्राम सुनको मूल्य २४ हजार ७६८ रुपैयाँ रहेको थियो। सोही मूल्यका आधारमा २ दशमलव ५ ग्राम सुनको मूल्य निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको सूचना महाशाखामा कार्यरत कर्मचारी सुधा श्रेष्ठका अनुसार प्रतिअसर्फी ३ हजार ४७८ रुपैयाँ मेन्टेनेन्स शुल्क लिइएको हो।

तर, बजार मूल्यअनुसार सुनको असर्फी खरिद गर्न पुगेका सर्वसाधारणले थप रकम तिर्नुपरेपछि असन्तुष्टि जनाएका छन्। सुनको तोकिएको मूल्यभन्दा अतिरिक्त शुल्क लिनुको कारणबारे स्पष्ट जानकारी नपाउँदा आफूहरू ठगिएको हो कि भन्ने महसुस भएको उनीहरूको गुनासो छ।

सुनको बजार मूल्यसँगै अतिरिक्त शुल्कसमेत जोडेर असर्फी बिक्री गरिएको विषयले राष्ट्र बैंकको शुल्क निर्धारण प्रक्रिया र त्यसको पारदर्शितामाथि प्रश्न उठाएको छ।