समाचार
सरकार कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने मनसायमा : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने मनसायमा लागेको आरोप लगाएको छ । हालको पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि प्रतिपक्षी कांग्रेसले यस्तो आरोप लगाएको हो ।
‘‘कानुनी शासनको आधारशिलामाथि आक्रमण गर्दै कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय यो सरकारले देखाएको छ,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । कांग्रेसले सरकारको पछिल्लो निर्णय गैरकानुनी भएको दावी गर्दै तत्काल निर्णय फिर्ता लिन पनि माग गरेको छ ।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन देउवा सरकारले गत भदौ १४ गतेपछि गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएका राजनीतिक नियुक्ति खारेज गरिएको भने पनि कांग्रेसले देउवा सरकारले निर्वाचन आयोगसँगको सहमतिमै नियुक्तिहरु गरेको दावी गरेको छ ।
कानुनसम्मत तरिकाबाट निश्चित अवधिका लागि गरिएका नियुक्तिहरु बदर गरिनु कानुनी व्यवस्थाको खिलाफमा भएकोले सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्ने कांग्रेसको भनाइ छ ।