समाचार
प्रधानमन्त्री जाँदा यति लाग्छ पैसा

काठमाडौं, ६ असार । मंगलबारबाट शुरु भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारले निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर गर्दा ६४ लाख ९२ हजारसहित कूल १ करोड ९३ लाख ६२ हजार २ सय ३१ रुपैयाँ खर्च हुने भएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजाबाहक विमान सेवा सुचारु नै छ । तर, ०७२ मा प्रधानमन्त्री छदाँझै यसचोटि पनि आङछिरिङ शेर्पा सञ्चालक रहेको सोही विमानमा यात्रा गर्न रुचि देखाएपछि सो रकम खर्च हुने भएको हो ।
मंगलबार बिहान काठमाडौंबाट उडेको उक्त विमानले प्रधानमन्त्रीलाई ल्हासामा उतारेको छ । उक्त जहाजको अघिल्लो सिटमा उड्ने आठ अति विशिष्ट तथा विशिष्ट पदाधिकारीका निम्ति प्रतिव्यक्ति एक घण्टे एकतर्फी उडानमा १३ सय ४५ अमेरिकी डलर (जम्मा १० हजार ७ सय ६० नेपाल रुपैयाँ) खर्च छुट्याइएको छ ।
सरकारी टोलीका ३९ सदस्यको लागि सोही सेक्टरमा जान इकोनोमी क्लासको प्रतिव्यक्ति ७ सय १७ अमेरिकी डलरका दरले जम्मा २७ हजार ८ सय ८५ डलर छुट्याइएको छ ।
भ्रमणदलका १७ सदस्य बेइजिङबाट ल्हासा उड्नका लागि इकोनोमी क्लासको टिकटमा प्रतिव्यक्ति ६ सय ५० अमेरिकी डलरका दरले ११ हजार ५० डलर खर्च स्वीकृति भएको छ ।
सरकारले प्रधानमन्त्रीसहित भ्रमण दलका सदस्यको लागि प्रतिदिन २५ सय अमेरिकी डलर छुट्याएको छ ।


