समाचार
कुखुराको दानाको मूल्य उच्च
काठमाडौँ,१५ माघ । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो ।

तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो । मङ्सिरमा रु ७५ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महीनामा रु १५० बढाइएको पुरीले बताउनुभयो । तीन महीनाको अवधिमा प्रतिबोरा रु ३७५ ले दानाको मूल्य बढेको उहाँले जानकारी दिनुभयो ।
