समाचार

नेपाली चिया उद्योग डुबाउने प्रपञ्चमा भारत

काठमाडौं, १२ मंसिर । नेपाल प्राय धेरै बस्तुमा भारतप्रति निर्भर छ । चामल, दालदेखि तेलसम्म भारतबाटै आउने गर्छ । खुकुलो भारतीय आयातका कारण नेपाली बस्तुले भारतीय बस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली उत्पादन बन्द भइरहेको अवस्था छ । यता भारत भने नेपालले भारत निर्यात गर्ने केही बस्तुमा पनि विभिन्न अड्चन राखेर नेपाली उत्पादनलाई डुबाउने खेलमा सधैं लाग्ने गरेको छ ।

केही समयअघि नेपाली अदुवालाई रोकेर नेपाली किसानको करोडौं क्षति गराएको भारत अब नेपाली चिया उद्योग डुबाउने प्रपञ्चमा लागेको छ । यसैक्रममा भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण ( एफएसएसएआई) ले नेपालबाट आउने चियाको गुणस्तरका बारेमा निगरानी राख्न निर्देशन दिएको छ । नेपाली चिया सस्तो भएपनि गुणस्तरीय नभएको भन्ने भारतीय उत्पादकहरुको आरोप रहेको छ ।

गतवर्षको जुनदेखि सेप्टेम्बर महिनासम्म गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन गरेको समयमा नेपाली चियाले भारतमा बजार लिएको भारतीयहरुको तर्क पाइएको छ । दार्जीलिङका उद्योगहरुले अहिले नेपालबाट २० देखि २५ लाख केजी चिया भारत गइरहेको तथ्यांक सरकारी निकाय समक्ष प्रस्तुत गरेका छन् ।

बुधबारको भारतीय पत्रिका द इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार घरेलु प्रयोगका लागि नेपालबाट अत्यधिक चिया भित्र्याइएको भन्दै दार्जीलिङ चिया उद्योगका तर्फबाट उजुरी परेपछि प्राधिकरणले सो निर्देशन दिएको हो ।

दार्जीलिङमा चिया उत्पादन गर्दै आएका अम्बुसिया समूहका अध्यक्ष सञ्जय बंशलको टोलीले नेपालबाट आयात गरिएको चिया गुणस्तरयुक्त नभएको भन्दै सरकारी निकायमा उजुरी हालेपछि सरकारी निकायले कडाइ गर्न भन्सारलाई निर्देशन दिएको समाचारमा बताइएको छ । यदि नेपाली चिया भारत जान रोकिए नेपालीले धेरै ठूलो क्षति ब्यहोर्नु पर्ने चिया व्यवसायीहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *