समाचार
जनयुद्धमै अड्क्यो कुरो, बाम एकता ९ वैशाखमा नहुने सम्भावना

काठमाडौं, ४ वैशाखा । एकतामा ‘जनयुद्ध’ राख्ने कि नराख्ने भन्ने विषय पेचिलो बनेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालुवाटारमा मंगलबार बसेको एकता संयोजन समितिको बैठक ठोस प्रगतिबिना नै टुंगिएको छ ।
सहमतिका लागि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेबारी दिइएको छ । संयोजन समितिको बैठकमा कार्यदलले पेस गरेको प्रस्तावमा सहमति जुटाउन मुस्किल भएपछि ९ वैशाखका दिन एकीकरण घोषणा पनि नहुने सम्भावना बढेको छ । दुवै अध्यक्षबीच कुरो मिले तोकिएको मितिमा घोषणा गर्न सकिने आश पनि रहेको बैठकमा सहभागी एक नेताले बताए ।
सहमति नजुटेका तीनवटा विषयमा छलफल भए पनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदलले दुईवटा प्रतिवेदन पेस गरेको थियो । ‘छलफलमा सहमति हुन सकेन । सहमतिका लागि दुई अध्यक्षलाई जिम्मा दिने निर्णय भएर बैठक टुंगो लाग्यो’, श्रेष्ठले भने ।
स्रोतका अनुसार नेतृत्व कस्तो रहने भन्ने विषयमा सहमति हुन नसक्दा एकता घोषणा लम्बिएको हो । दुई अध्यक्ष रहने भए पनि को कार्यकारी हुने भन्नेमा विवाद थियो । माओवादीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिनुपर्ने अडान राखेको थियो । कार्यदलले दुई अध्यक्षका कार्यविभाजनसहितको प्रतिवेदन पेस गरे पनि माओवादी र एमालेका अन्य नेताबीच कुरा मिल्न सकेन ।
एमाले महासचिव इश्वर पोखरेलले घुमाउरो भाषामा नेतृत्वमा नै कुरा अल्झिएको बताए । माओवादी ६०/४० को अनुपातमा एकीकरणमा जान तयार भएको नेताहरूले बताएका छन् ।
पोखरेलका अनुसार चुनाव चिन्हको विषयमा खासै विवाद छैन । विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल सकिएको छैन ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए । निर्वाचन चिन्ह, जनयुद्ध र सदस्य संख्याका विषयमा विवाद कायम थियो ।
‘अरु कुरा मिल्यो नेतृत्व कसको र कस्तो रहने भन्नेमा विवाद भएपछि शिर्ष नेतालाई नै समस्या समाधान गर्न जिम्मा दिइयो’, बैठकमा सहभागी एक नेताले भने ।

