समाचार
काभ्रे–२ मा शान्तिपूर्ण मतदान सम्पन्न, बसुन्धरा हुमागाईंको धन्यवाद

फागुन २१ बिहीबार ,२०८२
काभ्रेपलाञ्चोक । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बसुन्धरा हुमागाईंले काभ्रे क्षेत्र नम्बर २ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा मतदाता तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद व्यक्त गर्नु भएको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उहाँले लोकतान्त्रिक अभ्यासअन्तर्गत राज्य शक्ति निर्माणको महत्त्वपूर्ण प्रक्रियामा सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाता तथा नेपाली जनताप्रति सम्मान तथा आभार प्रकट गर्नु भएको हो।
हुमागाईंले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गराउन खटिनु भएका निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी, पत्रकार तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताप्रति विशेष धन्यवाद व्यक्त गर्नु भएको छ।
उहाँले काभ्रेली जनताको उत्साहजनक सहभागिताले लोकतान्त्रिक संस्कृतिलाई थप सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि लोकतन्त्र, शान्ति, सहकार्य र आपसी सद्भाव कायम राख्दै समाज र राष्ट्र निर्माणमा सबैको साथ रहने विश्वास व्यक्त गर्नु भएको छ। हुमागाईंले शान्तिपूर्ण र सभ्य वातावरणमा मतदान सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति पुनः कृतज्ञता प्रकट गर्नु भएको छ।

