समाचार

आधा शताब्दीपछि भुम्लुवासीलाई धनी पुर्जा वितरण

भाद्र ३, मंगलबार, २०८२
काभ्रेपलान्चोक । विगत करिब आधा शताब्दीदेखि लालपुर्जाविहीन रहेका भुम्लुका नागरिकहरूले अखेर धनी पुर्जा प्राप्त गरेका छन्। भूमि व्यवस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले आज एक कार्यक्रममार्फत लाभग्राहीहरूलाई पुर्जा वितरण गर्नुभएको हो।

पहिलो चरणमा कुल ४६५ जना लाभग्राहीले लालपुर्जा प्राप्त गरेका छन्। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा लाभग्राहीहरूलाई धनी पुर्जा हस्तान्तरण गरिएको हो।

भुम्लुमा २०३२ सालमा सिमा विवादका कारण रोकिएको नापी कार्य २०७१ सालमा पुनः सुरु भए पनि भूकम्प र कोभिड–१९ महामारीका कारण लामो समयसम्म निरन्तरता पाउन सकेको थिएन।

२०७९ सालको स्थानीय तह निर्वाचनमा गठबन्धन उम्मेदवारहरूले लालपुर्जा वितरणलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए। सोही मुद्दालाई निरन्तरता दिने क्रममा हाल भुम्लु गाउँपालिकाका वडा नं. ७ र ८ का नागरिकहरूले पुर्जा प्राप्त गर्न सफल भएका हुन्।

बाउ–बाजेकै पालादेखि पुर्जाविहीन भएर चलन–भोग मात्रै गर्दै आएका जमिनका लागि आधिकारिक पुर्जा पाएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन्। भुम्लुका दुई वडामा करिब १५ सय नागरिकले धनी पुर्जाका लागि निवेदन दिएका छन् भने अझै पनि नाम नमेल्ने, लगत नभिड्ने लगायतका कारण केही प्रक्रियागत काम बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *