समाचार
सुदूरपश्चिममा ठूलीरात अर्थात पुस पन्ध्र पर्व धुमधाम सँग मनाइँदै
धनगढी : सुदूरपश्चिम प्रदेशमा ठूलीरात पर्व धुमधामसँग मनाइँदै छ । पुस १५ गते रात वर्षको सबैभन्दा लामो हुने भएकाले ठूलीरात भनिन्छ ।
ठूलीरातमा राति मीठा परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए ।
रातभरि दन्त्य कथा, कहानी (स्थानीय भाषामा आइना ,बातै) सुन्ने र सुनाउने तथा तरुल सखरगञ्ज पकाएर खाने गरिन्छ । पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने प्रचलन छ ।
तेल वा घिउमा तारेर खानेकुरा तयार पारिन्छ । यस्तै, घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट कुन्क्यौलो (वनभोज) खाने पनि प्रचलन छ ।
पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरलाई स्फुर्ति दिन चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको स्थानीयहरु बताउँछन् ।
यस पर्वमा विवाहित छोरीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गरिन्छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।
अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन भनिए पनि सुदूरपश्चिममा भने पुस १५ लाई छोटो दिनका रुपमा मानिन्छ ।



