समाचार
जेलभित्र फिल्मी शैलीमा ग्याङफाइट हुँदा ५२ को मृत्यु
एजेन्सी । ब्राजिलको एक जेलमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ५२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उक्त झडप करिब पाँच घण्टा चलेको थियो । अल्तामिरा जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गर्दा १६ जनाको टाउको छिनाएर हत्या गरिएको बिबिसीले उल्लेख गरेको छ ।
आक्रमणमा १६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने जेलमा लगाइएको आगोमा निसास्सिएर अन्यको ज्यान गएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अल्तामिरा जेलमा ठूलो संख्यामा बन्दीहरु राखिएका कारण आजको घटना घटेको बताइएको छ ।
२०० जना कैदी राख्ने क्षमता भएको यो करागारमा अहिले ३०९ जनालाई कोचेर राख्दा ५२ जनाले ज्यान गुमाएको समाचारमा उल्लेख छ । बिबिसीका अनुसार सन् २०१७ मा पनि ब्राजिला जेलमा रहेका कैदीका समूहबीच झडप हुँदा १२० जनाको मृत्यु भएको थियो।




