समाचार

उपचारका क्रममा बालकको मृत्यु भएपछि कान्ति बाल अस्पताल तनावग्रस्त, औषधि खानेबित्तिकै मृत्यु भयो

काठमाडौं । उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पताल तनावग्रस्त बनेको छ । उपचारका लागि लगिएका बालाजुका ८ वर्षे बालक अंकित खत्रीको बुधबार बिहान मृत्यु भएपछि तनाव सिर्जना भएको हो।पेट दुखेपछि मंगलबार अंकितलाई उनका बुवाआमाले कान्ति बाल अस्पतालमा जाँच गराउन ल्याएका थिए। डाक्टरले ग्यास्ट्रिक भएको भन्दै खाली पेटमा खानका लागि औषधि दिएको अंकितका परिवारले बताएका छन् ।

मंगलबार डाक्टरले दिएको औषधि डाक्टरकै निर्देशन अनुसार बुधबार बिहान खाली पेटमा खान दिएको र त्यसपछि अंकितलाई बान्ता भयो। चक्कर लागेर लडेका अंकित पूरै निलो भएको र लगत्तै वीर अस्पताल लगिएको थियो । त्यसपछि वीर अस्पतालले त्रिविमै रिफर गरेपछि बुधबार बिहान साढे सात बजे कान्ति अस्पताल नै ल्याएको अंकितको परिवारको दाबी छ । कान्तिका डाक्टरले छाती थिचेर बच्चा जिउँदै छ भनेको र पछि रगत परीक्षण पनि गरिएको पीडित परिवारले बताएका छन् । तर त्यसको केही बेरपछि अंकितको निधन भएको भनेर जानकारी दिएको थियो ।

डाक्टरकै लापरवाहीले अंकितको निधन भएको उनका आफन्तले आरोप लगाएका छन्। घटनापछि बालकका आफन्तले प्रदर्शन गरेका छन्।प्रहरीले होहल्ला गरेको भन्दै बालकका बुवा धनवीर खत्रीलाई केही बेर नियन्त्रणमा लिएको थियो। अहिले अस्पताल प्रशासन र प्रहरी प्रशासनको बैठक अस्पतालमै बसेको छ। तर त्यो छलफलमा बालकका आफन्त छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *