समाचार
३४ हजारको नागरिकता खारेज गर्दा राष्ट्रियता कमजोर हुन्छ : सांसद झा
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल झाले देशभित्रका नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने बताएका छन्।

सोमबारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्दै झाले नागरिकता पाएका व्यक्तिलाई राज्यविहीन र अनागरिक बनाउँदा राष्ट्रियता कमजोर हुने जिकिर गरे।
‘२०५४ सालमा जितेन्द्र देवको नेतृत्वको आयोगले ३४ हजार ९० मानिसलाई नागरिकता वितरण गरेको थियो। अहिले सर्वाेच्च अदालतबाट खारेज गरियो। यसबाट नागरिकलाई अनागरिक बनाउन खोजियो। नागरिकलाई राज्यविहीन र अनागरिक नबनाउ’, उनले भने, ‘होइन भने राष्ट्रियता कमजोर हुन्छ। सरकारको समृद्धि, विकासमा पनि बाधा पुग्छ।’
झाले मधेसको शक्तिलाई आन्दोलनमा जान बाध्य पार्ने तथा सांसद (रेशम चौधरी)लाई जेल पठाएर शान्ति कायम नहुने बताए। ‘शान्तिका लागि एजेण्डा सम्बोधन हुनुपर्छ। एजेण्डा सम्बोधन नभए शान्ति कसरी आउँछ। शान्ति नभए विकास कसरी गर्ने? समृद्धि कसरी आउँछ? त्यसकारण मधेसका एजेण्डा सम्बोधन गरौं, संविधान संशोधन गरौं’, उनले भने। याे खबर आजकाे नागरिक दैनिकमा छ।


