काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताउनुभएको थियो । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उहाँले सरकारले गरेका काम कारबाहीका विषयमा समेत चासो राख्नुभएको थियो ।
त्यसअवसरमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो ।
त्यस्तै तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराउनुभएको थियो ।
सचिवालयका अनुसार सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराउनुभएको थियो ।
–––


