ओमानले शुक्रबार आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको जनाएको छ । यसैबीच, इरानले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण तेहरानले विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने उक्त जलमार्गमा आवागमन अवरुद्ध गर्दै आएको छ ।
ओमानको समुद्री सुरक्षा केन्द्रका अनुसार पानामाको झण्डा बोकेको ‘आरआईटीआई’ नामक व्यापारिक जहाजमाथि आक्रमण हुँदा आगलागी भएको थियो । त्यसपछि ओमानी नौसेनाले जहाजमा रहेका २५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई आवश्यक स्वास्थ्य उपचारसमेत प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । जहाज ट्र्याकिङ वेबसाइट मरिन ट्राफिकका अनुसार उक्त जहाज कच्चा तेल बोक्ने ट्याङ्कर हो ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजका अन्तरराष्ट्रिय जलमार्गमा रहेका समुद्री बारुदी सुरुङ हटाएको बताउनुभएको छ । जलमार्ग खुला र सुरक्षित राख्न अमेरिकी सेना तैनाथ रहेको उहाँको भनाइ छ ।
बेलायती समुद्री सुरक्षा निकाय (युकेएमटीओ) का अनुसार शुक्रबार इरानको लाभान टापुबाट करिब ७४ किलोमिटर दक्षिणमा रहेको अर्को जहाजमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको थियो । जहाजका चालक दल सुरक्षित रहेको र वातावरणीय क्षतिको खबर नआएको निकायले जनाएको छ ।
इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले अनधिकृत मार्ग प्रयोग गरेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ । ती जहाजले नेभिगेसन तथा अवस्थिति पहिचान गर्ने प्रणाली बन्द गरी इरानी चेतावनी बेवास्ता गरेको गाड्र्सको आरोप छ । तीमध्ये एउटा ट्याङ्करमा २० लाख ब्यारेल तेल रहेको र समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको इरानले जनाएको छ ।


