बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

अ+
अ
अ-

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राख्नुुभएको हो ।

“अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्‍यो”, उहाँले भन्नुभयो, “प्रोटेक्सन गर्ने की सार्ने त्यो छलफल गराँै ।” जोखिमयुक्त ठाउँको जतिसुुकै संरक्षण गरे पनि प्राकृतिक विपद्लाई छेक्न नसक्ने भएकाले विकल्प सोच्नुपर्ने मन्त्री पुनको भनाइ थियो ।

यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटाल क्षेत्रमा निर्माण भएको पक्की तटबन्ध भत्काएको र बेनीको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विपद्को क्षतिको विषयमा जानकारी गराउँदै नदी र पहिरो नियन्त्रण गरि सदरमुकामलाई सुरक्षित बनाउन प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राख्नुभएको थियो ।

“नदीले कटान गरेको छ, भित्ताको पहिरो पटकदेखि डरलाग्दो गरी गएको छ र भूवर्गविद्हरूले अलिकति सङ्केत गर्नुभएको छ”, केसीले भन्नुभयो, “सदरमुकामको बस्ती, यहाँको बैंक अर्को वर्खामा यहाँ नरहने अवस्था आउन नदिनका लागि मानसिक र भौतिक रूपमा रोकथाम गर्न सकिने बजेटको लागि माथिल्लो सरकारसँग अपेक्षा राखेका छाँै ।”

मन्त्री पुनले सरकारले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी बेसिनमा बाढीपहिरोले क्षति पुर्‍याएको निजी आवास र भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत काम अघि बढाएकाले तथ्याङ्क सङ्कलन र समन्वय गर्न आग्रह गर्नुभयो ।

“तीनै तहका सरकारको साझेदारी र सहकार्यमा पुनःनिर्माण र पुनःस्थापनाको काम अघि बढाएका छौँ, सङ्घीय सरकारले उपलब्ध स्रोतसाधन परिचालनमा विभेद र कन्जुस्याई गर्दैन”, मन्त्री पुनले भन्नुभयो, “पहिलो चरणमा पछिल्लो विपद्बाट प्रभावित स्थानीय तहलाई तीन वर्गमा विभाजन गरेर रु २० लाख, रु ३० लाख र ४० लाखका दरले बजेट पठाउने निर्णय गरिसकेका छौँ ।”