मध्यपूर्वमा जारी युद्धका कारण इराकले करिब ६० अर्ब अमेरिकी डलरको आर्थिक क्षति बेहोरेको त्यहाँका विदेशमन्त्री फुआद हुसेनले बताउनुभएको छ । इरानले विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज जलमार्गमा अवरोध सिर्जना गरेपछि इराकको तेल उत्पादन र निर्यात प्रभावित भएको हो । युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको थियो भने ३५ लाख ब्यारेल निर्यात हुने गरेको थियो ।
इराकको अधिकांश तेल दक्षिणी क्षेत्रबाट होर्मुज जलडमरूमध्य हुँदै निर्यात हुने भएकाले जलमार्गमा अवरोध भएपछि उत्पादन घटाउनुपरेको थियो । भण्डारण क्षमता सीमित हुँदा इराकले सिरिया र टर्कीए हुँदै ट्रक तथा पाइपलाइनमार्फत सीमित मात्रामा तेल निर्यात गर्नुपरेको छ ।
हुसेनले रोममा इटालीका विदेशमन्त्रीसँगको भेटमा युद्धका कारण भएको क्षतिबारे जानकारी दिनुभएको छ ।
इराकको कुल सरकारी राजस्वको करिब ९० प्रतिशत हिस्सा तेल निर्यातबाट प्राप्त हुन्छ । तेल उत्पादनमा आएको गिरावटपछि निर्यातमा केही सुधार देखिए पनि सेप्टेम्बर १ देखि २१ सम्म दैनिक २६ लाख ब्यारेल तेल निर्यात भएको त्यहाँको तेल मन्त्रालयले जनाएको छ ।
यसैबीच, इराकको विदेशी मुद्रा सञ्चिति २० अर्ब डलरले घटेको छ भने उपभोक्ता मूल्यसमेत तीव्र रूपमा बढेको छ । आर्थिक संकट नियन्त्रण गर्न इराकको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक अमेरिकी डलरको तुलनामा इराकी दिनारको मूल्य घटाएको छ ।
तेल बिक्रीबाट प्राप्त विदेशी मुद्रामा निर्भर इराकले आयात, मुद्रा स्थिरता तथा सरकारी कर्मचारी र अवकाशप्राप्त व्यक्तिको तलब व्यवस्थापन गर्दै आएको छ ।
आर्थिक निर्भरता घटाउन इराकले सन् २०३७ सम्म गैरतेल राजस्वको हिस्सा १० प्रतिशतबाट बढाएर ४५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।


