गाउँ फर्कनेकाे लर्काे,१० लाखले छाेडे उपत्यका

अ+
अ
अ-

काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको छ । घटस्थापनापछि दसैँलगायतका चाडपर्व मनाउनको लागि बाहिरिने सर्वसाधारणको सङ्ख्या वृद्धि भइरहेको छ ।

वर्षदिनमा आउने चाड र इष्टमित्र र आफन्तसँगको पारिवारिक मिलन पनि हुने भएकाले पनि सर्वसाधारण ट्राफिक जाम, असुरक्षित यात्रा गरेरै भए पनि आआफ्नो गाउँघरमा फर्किने क्रम जारी नै छ । कमजोर सडक संरचना, ट्राफिक जामलगायतका अवरोधलाई छिचोल्दै सर्वसाधारण आआफ्नो गाउँघर फर्किरहेका छन् ।

गोदावरी नगरपालिका कैलालीका अमर महता पनि आफ्नो परिवारसहित दसैँ मनाउन घर जान लागेको बताउनुभयो । “हवाई टिकट महँगिएर छोइसक्नुभएको छ । हामी त बस चढेर नै दसैँ मनाउनको लागि घर जान लागेका छौँ,” उहाँले भन्नुभयो, “अहिलेको सडकको अवस्था हेर्दा त जाम पनि डर लाग्छ तर वर्षदिनमा आउने चाड मनाउन त जानुप¥यो नि !”

उहाँ मात्रै होइन, काठमाडौँ उपत्यकाभन्दा बाहिर घर रहेका ७४ वटै जिल्लाका सर्वसाधारण दसैँलगायतका पर्व मनाउनको लागि आआफ्नो घर फर्किंदै छन् । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले २०८३ दसैँ पर्वको लागी सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदनअनुसार दसैँमा सार्वजनिक यातायातमार्फत उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्या न्यूनतम छ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजार जना बाहिरिने प्रक्षेपण गरिएको बताउनुभयो ।

“दसैँमा यात्रुलाई आआफ्नो गाउँघर पु¥याउनको लागि न्यूनतम ४३ हजारदेखि ६५ हजार सार्वजनिक सवारीसाधनका ‘ट्रिप’हरुको आवश्यकता पर्नेछ,” उहाँले भन्नुभयो, “सो प्रतिवेदनले दसैँमा यात्रा गर्ने यात्रुको अल्पकालीन र दीर्घकालीनलगायतका समस्याको समाधानको बाटो पनि पहिल्याएको छ ।” यसमध्ये ठूला बसहरूको हिस्सा ४८ प्रतिशतभन्दा धेरै यात्रु ओसार्ने बताइन्छ । त्यसैगरी माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत हिस्सा ओगट्नेछ ।

पूर्वाधार विकास समितिका सभापति गजुरेलको नेतृत्वमा १७ सदस्यीय अध्ययन टोलीले सो प्रतिवेदन तयार पारेको हो । सो प्रतिवेदनअनुसार यसपालिको दसैँमा सबैभन्दा बढी चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ (अष्टमी)सम्मको तीन दिनको अवधिमा हुने बताइन्छ । प्रतिवेदनअनुसार असोज ३१ गते फूलपातीको दिन न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम एक लाख १३ हजार २८३ यात्रुले यात्रा गर्ने अनुमान गरिएको छ । फूलपातीको दिनमा न्यूनतम चार हजार ९११ देखि अधिकतम सात ३७६ सवारीसाधन आवश्यक पर्नेछ ।