प्रहरी संगठनकाे एआई,फरेन्सिक र साइबर अपराधमा आधुनिक क्षमता बढाइने

गृहमन्त्री गुरुङ- मन्तव्य काठमाडौँ, ३० असोजः गृहमन्त्री सुधन गुरुङ ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस
अ+
अ
अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएको छ ।

एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उहाँले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने छ भन्नुभयो ।

उहाँले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले भन्नुभयो, “हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।”

उहाँले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिनुभयो ।

गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिनुभयो ।

उहाँले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गर्नुभयो । “नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ”, गृहमन्त्री गुरुङले भन्नुभयो ।